हृदयमा बा !!
लेखम की नलेखम,
वियोग वेदना बारे लेखौं की !
विगतका शब्दविहीन भावहरू बारे लेखम !
त्यो निरुत्साहित पललाई शब्दमा उतारौ की ,
वियोगका नमिठा क्षणलाई शब्दमा व्यक्त गरौँ ??
बस म आज लेख्छु व्याकरण नमिलेका शब्दहरू ,
अनि केही निरुत्साहित वाक्यहरू !
कहाँबाट सुरु गरौँ ?
‘बाबा’ शब्द जहाँ प्रेम, मुस्कान, इज्जत, खुशी आदि सबै समेटिएको छ ।
आज करिब तेर्ह्र वर्ष भयो ‘बा’ हाम्रो प्यारो नभई भगवानको प्यारो भएको । मैले टुहुरो नामक उपनाम पाएको, घरमा कालो मडारियको बादल लागेको, हामी सहराविहीन भएको । दशैं तिहार सकिए लगत्तै घरमा बाली भिœयाउने बेला भएको थियो । यहाँ बाली भिœयाउने भन्दा पनि झन हामि लथालिङ्ग, छरप्रष्ट एका एक टिप्न नमिल्ने गरी उछिट्टिएको दिन २०६६÷०८÷१५। सायाद यो दिन निकै कष्टपूर्ण थियो । हजुरको भौतिक शरीर एकातिर, अनि अर्को तिर रोइ कराइ गरिरहेका दाजु, दिदी, आमा अनी म । जस्तो कि गजुर बिनाको मन्दिर जस्ता अधूरा, अपूरा, नुन विनाको तरकारी जस्ता स्वादहीन हामी, खुसी लुटिएका हामी, हाम्रो आँखा मा आँशु ,मनमा पीडा,र निराशा बाहेक केही पनि रहेन ।
सम्झिन्छु २०६६÷०८÷१५ एकाबिहानै हामीले लगाएको पहिरन बदलियो जेठो दाजुको कपाल मुडीयो अनी मेरो र माइलो दाजुको कपाल अन्त्येष्ठी स्थल मै मुड्ने कुरा गरियो । अनि केही बेरमा सबै जना मलामीले बाबा को भौतिक शरीर को पछि पछि हामीलाई हिँडाएर ‘बा’ को भौतिक शरिरलाई मसानघाटमा पु¥याए, त्यो चिसो बगर मा मेरा ‘बा’ को भौतिक शरीरलाई बिसाए, हामी तीन दाजुभाईलाई वरिपरि बसाए, र मलामीहरू चिता सजाउन लागे , सजाइएको चितामा बाको भौतिक शरिरलाई खाक पार्नका निम्ति ‘बा’ को मुर्दालाई चितामा राखेर जलाउने कुरा गरियो, मुखमा आगो दिने बेला दाजुहरु बेहोसी हुनुभयो आँखाबाट बलिन्धार आँशु बगाउन थाल्नु भयो अनि अर्को तिर म ठुलो स्वरमा ‘बा’ लाई किन जलकाएको भन्दै रुँदै छट्पटीन थालें । ‘बा’ लाई आफ्नै आँखा अगाडि कस्ले जलाउन सक्थ्यो र ! हामी बेहोसी थियांै तर के गर्नु प्रकृतिको (हामी हिन्दू धर्मालम्वीहरुको) नियम नै रहेछ । अनि केही छिन मा ‘बा’ को भौतिक शरीर पनि हामी सामु रहेन । बाँकी रहेको माहिलो दाजुको र मेरो कपाल मुडिन थालियो साथ साथै जुठो पर्ने भाइ बन्धुहरूको पनि कपाल मुँडियो र केही छिनमा सबै जना घरतिर पर्कियौ, उकालो बाटो खाली खुट्टा हिँड्न नसक्दा मलाई बोकेर घरतिर ल्याइयो दाजुहरू भने आफै हिँडेर आउनु भयो ।
जब हामी घरमा पुग्यौँ आमालाई पनि सेतो लुगामा सजाइएको थियो । सायाद सर्वस्व लुटिनु यसैलाई भन्छ होला । दिदीको रक्षक लुटिनु, हामी तीन भाइको खुसी लुटिनु यसैलाई भन्छ होला । हाम्रो लागी यहाँ भन्दा ठूलो बर्जपात के नै हुन सक्थ्यो र ! मेरो वर्तबन्ध नभएको हुँदा मेरो र भाउजुको भान्सा एक, ठूलो दाजु र माहिलो दाजुको भान्सा एक, आमाको भान्सा एक अनी दिदीको भान्सा एक , एक गरी हाम्रा भान्सा नी अलग अलग हुन थाले । खाना पनि दिनको एकपटक मात्र खानु पर्ने रहेछ । बाबाको पुण्य तिथि सम्म त घरमा सबै जना आफन्त, इष्टमित्र मात्र थिए । पुण्य तिथि समाप्त भएलगत्तै सबै जना आ–आफ्नो घर तिर लागे, यहाँ आफ्ना परिवारका सदस्य बाहेक अरु कोही हुँदैन भनेको यही त होला ! लगतै ‘बा’ को वर्षदिनको पुण्य तिथि पनि सकियो तर हाम्रो, दुःख, पीडा, विस्मात, भने ताजै राइरहे ।
सिन्दुर, चुरा, पोते अनी रंगीन पोशाक लुटिएकी मेरी आमाको आँखाबाट वर्षातको भेल झै आँखाबाट बगेको त्यो आँशुको भेल भने कहिल्यै रोकिएन । जब हामी दुःखित हुन्थ्यौँ मलिन अनुहार लगाएकी मेरी आमा .ले भन्नुहुन्थ्यो “तिमीहरूको म छु मेरो पो को छ र बाबु” अनि सान्त्वना दिनलाई मेरो जवाफ हुन्थ्यो ‘बा’ नभएपनि अब हामी छौँ” भन्दै बितिसकेका कुरा सम्झेर मन् चिस्याउनु हुँदैन, अनी पछाडि फर्केर हेर्नु बेल्कुल हुँदैन र ती खोटहरु पर्नुपर्छ भनेर सान्त्वना दिने म त्यो बेला कलिलो आठ वर्षको अबोध बालक अहिले वयस्क भइसक्दा पनि आफै गन्तव्यविहीन यात्री जस्तो छु । विद्यालय मा जब दिउँसो नास्ता खाने समय हुन्थ्यो साथीभाइका बाबाले उनीहरुलाई पैसा दिदाँ र सँगै हात समातेर हिँड्दा, बाबा त्यो किनेर ल्याइदिनु भन्दा ‘बा’ लाई सम्झिदै ढोका बन्द गरेर रुने म अहिले नत आमालाई खुसी दिन सकेको छु न त बाबा को सपना पूरा गर्न सकेको छु । तर प्रयास जारी छ ।
हेरेक मुस्किलको सारथि ‘बा’ गुमाएपछि तमाम खुसीहरु गुम्दा रहेछन् । ‘बा’ ले परिकल्पना गरेको छोराछोरीको भविष्य र छोराछोरी आफैले बाटो पहिल्याउँदै सोचेको भविष्यमा कयौं गुणा फरक हुँदोरहेछ । यहाँ मार्गनिर्देशक ‘बा’ बिना प्रगतिपथका लागि अगाडि सारेका पाइलाहरु पनि कहिले कतै रातभरि मस्त निन्द्रामा देखेका सपना जस्तै हुँदा रहेछन् । सायाद हिँड्दै गर्दा थामी हिड्ने हात बाल्यकालमै गुमाएको भएर होला जहिले आफु अधुरो, अपुरो, खाली खाली लाग्ने ! साँच्चै भन्दा परीवारको मुख्य व्यक्ति ‘बा’ गुमाउनु र मौरीले आफ्नो रानो गुमाउनु एउटै होला ।
दशैँ आउछ जान्छ,तिहार आउछ जान्छ खासै अप्ठ्यारो लाग्दैन तर कुसे औंसी आउँदा भने मन् गरुङ्गो हुन्छ् किनकि सबै साथी भाइले ज्ब्एएथ् ँब्त्ज्भ्च् म्ब्थ् भनेर फेसबुकका भित्तामा पोस्ट्याएको देख्दा मोबाइल अफ गर्छु अनी भक्कानिएको मन् समाल्छु……….।
हरेक वर्ष कुशे औंसी (बाबाको मुख हेर्ने दिन) आउछ तर ‘बा’ कहिल्यै आउनु हँुदैन !! किन होला एकछिनलाई भए पनि ‘बा’ आउँनु नी भन्ने खालका कुरा सोच्छु….तर सबै कुरा कल्पनामा मात्र सीमित हुँदा रहेछन् ।
एक तर्फ मलाई कुशे औंशी आयको खूब मन पर्छ टेको लगाइएको मन् को टेको फूकाली दिन्छु अनि एकान्तमा आँशु भेल वर्षन थाल्छ । मैले देखाउन नसकेका पीडाहरू, चुहाउन नसकेका आँशुहरू बेहिसाब झर्ने गर्छन् अनि अर्को तर्फ यो कुसे औंसी विरक्त लाग्छ जस्ले विस्मृतिमा हराइसकेका स्मृतिहरू ताजा गराइदिन्छ । भुलिसकेका हैन भुल्न आँटेका कुराहरू आँखै अगाडि ल्याइदिन्छ ।
जब परलोक गइसकेका मेरा ‘बा’ सम्झिन्छु अनी मलाई साँच्चै जान्न मन् लाग्छ ! पीडा के हो ? खुसी के हो ? वियोग के हो ? आँशु अनि रोधन के हो ? तड्पिनु के हो ? सम्झिनु के हो ? तीतो अनुभती के हो ? भौतिक सुख के हो ? आत्म सन्तुष्टि के हो ? मलाई जान्न मन् छ, असंख्य सवालका जवाफहरु ! चाहना, कल्पना, बाध्यता र विकल्प के हो ? साच्चै बोकी नसक्ने गरी, समालिन नसक्ने गरी जान्न मन् छ ।
साँच्चै खोज्दै जाँदा सबै प्रश्नको जवाफमा मैले ‘बा’ बाहेक केही भेटाउन सकिन । म खोज्छु सबथोक तर बा शब्द मा म ब्रह्माण्ड भेटाउँछु । अनि आज सम्मको म बन्न मा मेरी आमाले कुनै पनि कुराको अभावमा अड्किन दिनु भएन । शैक्षिक योग्यताका आधारमा प्रौढ शिक्षा हाँसिल गरेकी मेरी आमा साँच्चै अरु सबथोकमा मास्टर डिग्री हाँसिल गरेजस्तै हुनुहुन्छ । अभावको दबाबलाई आफै भित्र मौन राखेर तेरो लागि के गर्नुपर्ने हो बाबु म गर्छु भन्नु हुन्छ । अभावको सिर्जना हुन दिनुहुन्न, यद्यपि मेरी आमा सर्वज्ञानी हुनुहुन्छ । र आजसम्मको म बन्नमा मेरो दिदि अनी दाजुहरुको पनि उत्तिकै भूमिका रहेको छ । सायाद म म घरको कान्छो भएको भएर होला सबैको प्यारो भएको , यदी म घरको जेठो सन्तान भएको भए अभाव मात्र नभई हरेक कठिन परीस्थिको सामना गर्नु पथ्र्याे होला तर मेरी आमा, मेरो दिदी र मेरा दाजुहरूले गर्दा कुनै त्यस्ता अप्ठ्यारो महसुस गर्नुपरेको छैन्, तरपनि यदा कदा बाबा नहुँदा न्यार्सो लाग्दो रहेछ ।
बैरी शत्रुहरुलाई दुःख र उदासी पन मन् पर्दो रहेछ भन्ने थाहा पाइसकेपछि उदासीपनबाट टाढा रहन म दुनियालाई मुस्कान देखाउन खोज्छु, अनि मुस्कानको तारिफमा वा कति खुसी, कति शान्त, कति सुखी भन्ने खालका प्रतिक्रिया आउने गर्छन् । यहाँ मनका भावनाहरू बुझ्दिनेको नै छ र !! जो छन बाहिरी कुराहरुको मात्र आलोचना र समालोचना मात्र गर्छन् । ‘बा’ परलोक जाँदा, ‘बा’ को भौतिक शरिरको आडैमा रोई कराइ गरी बेहोसी भएका हामीलाई ‘बा’ नभए पनि हामी छांै भन्नेहरू अचेल कता होलान्, के गर्दै होलान्, सायाद उतिबेला हाम्रो मन् थमाउनलाई भनेका होलान् । सोध्छन् कहिले कतै के गर्दै छस् ? भनेर ‘प्रश्न कति सजिलो छ तर उत्तर भने आज सम्म दिएका जवाफ मध्यकै गाह्रो……!
खुलेर प्रश्नको जवाफ दिन मन् लाग्छ तर सक्दिन अनी !
मनमनै भन्छु……
यहाँ न ओठमा हासोँ छ, न आँखामा आँसु…….!
न हारको शोक,न जितको उत्सव,
न फुर्सद मा छु न हतार मा छु ।
चल्दै छ जीन्दगी आफ्नै गतिमा…….।
म केही नबोली मौन बस्दिन्छु ।
परिवारले आशा भोरासा गरेको व्यक्ति मै हो । मैले आमाले चाहेको सुन्दर भविष्य अपुरो छोड्नु हुँदैन ।दाजु दिदीले गरेको आशालाई मार्नु हुँदैन । ‘बा’ ले चाहनु भएको सुन्दर र उज्जल भविष्य बारे सोच्दै फेरी मेरो दैनिकी सुरु गर्छु। “भावपूर्ण श्रद्धासुमन बाबा” अर्को जुनी पनि हजुरकै हुन पाऊँ र यो जुनीमा पूरा गर्न नसकेका सपना पूरा गर्न पाउँ ।






